५ भाद्र २०८३, शुक्रबार

बाह्रखरी कथा प्रतियोगिता, २०८३ का निम्ति कथा आह्वान

कोलोराडोखबर संवाददाता , August 21st, 2026

नेपाल । ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का निम्ति कथा आह्वान गरिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिताको आठौँ संस्करण घोषणासँगै कथा आह्वान गरेको हो ।

नेपाली भाषामा कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत सात वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । विश्वभरिका नेपाली भाषामा कथा लेख्ने कथाकार प्रतियोगितामा सहभागी हुन सक्नेछन् । तोकिएको सर्त पूरा गरी आउँदो असोज ३ गतेभित्र कथा पठाउन आह्वान गरिएको हो ।

“नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा यही असोज ३ गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषाका सर्जकहरूले संसारभरिबाट कथा पठाउन सक्नेछन् ।”

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा समावेश गरी ‘उत्कृष्ट कथा, २०८३’ प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशन हुने सर्वोत्कृष्ट तीनबाहेक बाँकी २२ कथाका कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिने बाह्रखरी मिडियाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन नेपाली भाषामा लेखिएको मौलिक कथा पठाउनुपर्नेछ । अघिल्लो वर्षमा यो प्रतियोगिताका निम्ति पठाइएका कथा दोहोर्‍याएर पठाउन पाइने छैन ।

कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन । कथा कम्तीमा १,५०० र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेलगायत सर्त रहेको बाह्रखरी मिडियाले जनाएको छ ।

यस वर्षको निर्णायक समूहमा अग्रज कथाकार भुवन ढुंगानाको संयोजकत्वमा डा। ज्ञानु अधिकारी र खगेन्द्र लामिछाने सदस्य छन् । यस वर्षको बाह्रखरी कथा लेखन प्रतियोगिताको टाइटल स्पोन्सरमा डिगो रहेको छ ।

विगत सात वर्षको अवधिमा विश्वभरिबाट करिब ६ हजार कथाकारले प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । कथा प्रतियोगितामा नेपालका ७७ जिल्लाका अतिरिक्त भारतका दार्जीलिङ, सिक्किम, असम, मेघालय, दिल्ली, पश्चिम बंगालमा रहेका नेपाली भाषी कथाकारका साथै चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, इन्डोनेसियालगायत मुलुकमा रहेका कथाकारले पनि उत्साहपूर्ण सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्