नेपाल । सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
चालु आर्थिक वर्ष २०८३–८४ मा गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले कार्यसम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
त्यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गर्नुभयो ।
कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेटको कार्यान्वयन गर्न र एक सय कार्यसूचीलाई कार्यान्वयन गर्न प्राथमिकता दिँदै प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको जानकारी दिनुभयो ।
कार्यसम्पादन सम्झौता गर्दा पूर्वाधार विकासमन्त्री सुनील लम्साल अस्वस्थताका कारण र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसद्मा सहभागी हुनु परेकाले उपस्थित हुन सक्नुभएन । बुधबार नै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्