-आर. आर. चौलागाईं-
उद्योग खुलेर के गर्नु !
त्यहाँ पार्टी खोल्न सकिएन भने
त्यहाँ मजदूर युनियन बनाउन सकिएन भने
त्यहाँ माग राख्न सकिएन भने
त्यहाँ हडताल गर्न सकिएन भने
त्यहाँ धर्ना बस्न सकिएन भने
त्यहाँ नारा जुलूस गर्न सकिएन भने
त्यहाँ चन्दा उठाउन सकिएन भने
त्यहाँ विज्ञापन पाउन सकिएन भने
उद्योग खुलेर के गर्नु !
उद्योग खुलेर के गर्नु !
हामीले पार्टी कसरी चलाउने ?
हामीले राजनीति कसरी गर्ने ?
हामीले मान्छेलाई कसरी झुक्याउने ?
हामीले ताई न तुईका सपना कसरी देखाउने ?
हामीले मई दिवस कसरी मनाउने ?
हामीले भाषण कसरी गर्ने ?
हामीले गीत कसरी गाउने ?
हामीले कविता कसरी लेख्ने ?
उद्योग खुलेर के गर्नु !
उद्योग खुलेर के गर्नु !
हामीले नेताहरू कसरी उत्पादन गर्ने ?
हामीले नयाँनयाँ कार्यकर्ताहरू कसरी बनाउने ?
हामीले लेबी कसरी लिने ?
हामीले खानपिनको व्यवस्था कसरी मिलाउने ?
हामीले आफ्ना मान्छेहरू कसरी घुसाउने ?
हामीले राजनीतिको रोटी कसरी सेकाउने ?
हामीले चुनाव कसरी लड्ने ?
हामीले भाँडभैलो कसरी मच्चाउने ?
हामीले हाम्रो खूबी कसरी देखाउने ?
उद्योग खुलेर के गर्नु !

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्