नेपाल । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले साताको दुई दिन बिदा दिने निर्णयमा पुनरवलोकन सम्बन्धमा कुनै गृहकार्य नगरेको प्रस्ट्याउनुभएको छ । उहाँले साताको दुई दिनको बिदाले विद्यार्थीको विद्यालय जाने समय तथा पाठ्यक्रम समयमै सम्पन्न नहुने र सरकारी सेवामा मितव्ययीलगायतका विषयमा सरकारको ध्यानाकर्षण भए पनि सो विषय पुनरवलोकन सम्बन्धमा कुनै गृहकार्य नभएको प्रस्ट्याउनुभयो ।
राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले सभाका सदस्यले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो । जवाफमा मन्त्री गौतमले विद्यार्थी विद्यालयमा मात्रै पढ्छ भन्ने अवधारणाबाट बाहिर निस्किनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीको सिर्जनशीलता बढ्ने स्थान विद्यालय मात्रै नभई समाजसमेत रहेकाले विद्यालय बिदाको दिन समाजमा घुलमिल हुँदा आफ्नै प्रकारको वृत्तिविकास भइरहेको बताउनुभयो ।
इन्धन आपूर्तिमा असहजताले निम्तिएको परिस्थितिमा समस्या समाधानका लागि साताको दुई दिन बिदा दिने सरकारले निर्णय गरेको थियो । मन्त्री गौतमले भन्नुभयो, “तत्काललाई दुई दिनको बिदा पुनरवलोकन गर्ने कुनै गृहकार्य भएको छैन् । सरकारले निर्णय गर्ने समयमा यस विषयमा सभाका सदस्यले गराएको ध्यानाकर्षणलाई ध्यान दिइने छ ।”

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्