-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शिवालय स्थापना गरी भगवान शिवसहित शिव परिवारका दिव्य मूर्तिहरूको प्राणप्रतिष्ठा महोत्सव आयोजना गरिने भएको छ ।
नेपाली घरमा स्थापना हुन लागेको पवित्र शिवालयमा शिव, माता पार्वती, कार्तिकेय र श्रीगणेशका मूर्तिहरू स्थापना गरि एक भब्य समारोह बिच प्राण प्रतिष्ठा गर्न लागिएको हो ।
यही अगस्ट १६ तारिक आइतबारका दिन बिहान ९ बजेदेखी आयोजना हुने प्राणप्रतिष्ठा समारोहमा गुरु तथा पुरोहितहरूद्वारा शास्त्रीय एवं वैदिक विधिअनुसार पूजापाठ, जप–तप, हवन तथा धार्मिक अनुष्ठान गरि बाजागाजा, भजन–कीर्तनसहित विशेष धार्मिक वातावरणमा मूर्तिहरूको प्राणप्रतिष्ठा गरिने नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले बताएका छन् ।
शिवालयमा नेपालको पवित्र कालीगण्डकी नदीको शिलाबाट निर्मित शिव परिवार, शिवलिङ्ग तथा बसाहको मूर्ति स्थापना गरिने भएको छ । उक्त मूर्तिहरू लक्ष्मी फुडका कृष्ण काफ्लेले सौजन्यस्वरूप उपलब्ध गराएका हुन् ।
प्राणप्रतिष्ठा समारोहमा सहभागी भक्तजनका लागि आवश्यक प्रसाद तयार गर्न चाहिने सामग्री समेत लक्ष्मी फुडले निःशुल्क उपलब्ध गराउने काफ्लेले प्रतिज्ञा गरेका छन् । उनले प्रवासमा नेपालीभाषी समुदायको धार्मिक तथा सांस्कृतिक एकताको केन्द्रको रूपमा रहेको नेपाली सांस्कृतिक केन्द्रमा शिवालय स्थापना हुनु समुदायका लागि महत्वपूर्ण धार्मिक उपलब्धि भएको भेका छन । यस्तो पुण्य कार्यमा सहभागी हुन पाउनु सवैका लागी गर्वकुरा भएको भन्दै नेपाली घरका उपाध्यक्ष काफ्लेले सबैलाइ सहभागि भइ सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले यो अवसरलाई नेपाली समुदायका लागि ऐतिहासिक तथा पुण्य अवसरका रूपमा लिन आग्रह गरेका छन् । उनले सम्पूर्ण भक्तजन, शुभेच्छुक तथा नेपाली समुदायका सदस्यहरूलाई सपरिवार उपस्थित भएर दर्शन, पूजा–आराधना, वैदिक अनुष्ठान तथा आरतीमा सहभागी भइ पुण्य आर्जन गर्न हार्दिक निमन्त्रणा गरेका छन्।
अध्यक्ष चौलागाईंले नेपाली घरमा शिवालय स्थापना र प्राणप्रतिष्ठा पश्चात प्रवासमा रहेर नेपाली मौलिक धर्म, संस्कृति, परम्परा र आध्यात्मिक मूल्य–मान्यताको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण बिस्तारै बन्दैजाने अपेक्षा रहेको खुलाएका छन् ।
नेपाली घर परिवारले श्रद्धा र भक्तिभावका साथ एकत्रित भई यस पुण्य कार्यमा सहभागी बनौँ र भगवान शिवको आशीर्वाद प्राप्त गरौँ भन्दै कोलोराडोवासी सम्पूर्ण नेपाली समुदायलाई साथ र सहयोगको लागी अनुरोध गरेको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्