२८ श्रावण २०८३, बिहीबार

सरकारले मार्ग प्रशस्त गरेको १० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलपमेन्ट फण्डबारे जान्नुहोस्

कोलोराडोखबर संवाददाता , August 13th, 2026

१. एनआरएनएले सानो पुँजी भएका गैरआवासीय नेपालीहरूलाई समेत समेटेर सामूहिक लगानीको वातावरण बनाउन सरकारलाई अनुरोध गर्दै आएको थियो। यही सन्दर्भमा केही वर्षअघि एनआरएनएका पदाधिकारीहरूको सक्रियतामा न्यूनतम १० अर्ब रुपैयाँ पुँजी परिचालन गर्ने उद्देश्यले एनआरएन नेपाल डेभलपमेन्ट फण्डको स्थापना भएको थियो।

२. यस कम्पनीमा नेपाल सरकारले ५ प्रतिशत लगानी गर्ने तथा १० प्रतिशत प्रवर्द्धक शेयरधनीहरूबाट र बाँकी ८५ प्रतिशत आईपीओमार्फत पुँजी संकलन गर्ने प्रस्ताव सरकारसमक्ष राखिएको थियो। सामान्यतया नेपाल धितोपत्र बोर्डले आईपीओमार्फत ४९ प्रतिशतसम्म पुँजी संकलन गर्न अनुमति दिने गरेको भए पनि यस कम्पनीले ८५ प्रतिशतसम्म आईपीओमार्फत पुँजी संकलन गर्न अनुमति पाएको छ।

३. अब विदेशमा बसेका गैरआवासीय नेपालीहरूले यस कम्पनीमा अनलाइनमार्फत न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन्। लगानी तथा आवश्यक कागजी प्रक्रिया पूरा गर्न भौतिक रूपमा नेपाल जानुपर्ने छैन।

४. गैरआवासीय नेपालीहरूले मात्र लगानी गर्न सक्ने यो पहिलो कम्पनी भएकाले नेपाल राष्ट्र बैंक, नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र विशेषगरी अर्थ मन्त्रालयसँग सम्बन्धित दर्जनौँ कानुन तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपरेको थियो।

५. यस कम्पनीले गरेको लगानीबाट प्राप्त मुनाफा विदेशमा लैजान सकिने व्यवस्था हुनेछ। साथै, एनआरएन शेयरधनीले आफ्नो शेयर अन्य एनआरएनलाई बिक्री गर्न सक्नेछन्।

६. यस कम्पनीले नाफाको १% रकम (CSR) NRNA लाई प्रदान गर्नेछ । तर कम्पनी स्वतन्त्र संस्था भएकाले यसको कुनै पनि दायित्व (liability) एनआरएनएले वहन गर्ने छैन।

७. कम्पनीले मुख्यतः नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्नेछ।

८. कम्पनीले सम्भावित शेयरधनीहरूलाई FAQ तथा रोड–शोमार्फत आवश्यक जानकारी प्रदान गर्नेछ। रोड–शो आयोजना गर्न एनआरएनएले आवश्यक समन्वय गर्नेछ। अन्य जानकारी कम्पनीको वेबसाइटबाट लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्