अमेरिका । अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी प्रवेशाज्ञा (भिसा) रद्द गरिएको जानकारी दिएको छ।
मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसाहरू रद्ध गरिएको स्पष्ट पारेको हो। मन्त्रालयकाअनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाएको (डीयूआई), चोरी र लागुऔषध सम्बन्धी अपराधहरू भिसा रद्ध हुनुका मुख्य कारण रहेका छन्।
यसका साथै लापरवाहीपूर्ण ढङ्गले सवारी चलाएको, यौनजन्य हिंसा, बाल दुव्र्यवहार, जालसाजी र आर्थिक हिनामिना जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको भिसा पनि ठूलो संख्यामा रद्ध गरिएको विज्ञप्तिमा उल्लेख छ। विदेश मन्त्रालयले भिसालाई अधिकार नभई एक ‘विशेषाधिकार’ को रूपमा व्याख्या गर्दै भनेको छ, ‘अमेरिकी भिसा प्राप्त गर्नु एउटा विशेषाधिकार हो, अधिकार होइन। यसको दुरुपयोग गर्नेहरूबाट हाम्रा समुदायलाई सुरक्षित राख्न उपलब्ध सबै कानूनी संयन्त्रहरूको प्रयोग गर्न विभाग प्रतिवद्ध छ।’
डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किएसँगै उनको प्रशासनले अध्यागमन नीतिमा व्यापक कडाइ गरेको छ। यस नीति अन्तर्गत कागजपत्रविहीन आप्रवासीहरू विरुद्ध कडा कदम चाल्नुका साथै वैध भिसामा अमेरिकामा रहेका व्यक्तिहरूको समेत सुक्ष्म निगरानी र छानबिनलाई तीव्रता दिइएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्