नेपाल । साहित्यकार तारा सुवेदीको कविता सङ्ग्रह “अनुभूतिका महक” लोकार्पण भएको छ ।
नेपाल स्रष्ट्रा समाज, केन्द्रीय समितिद्वारा आइतवार राजधानीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, साहित्यकार भागिरथी श्रेष्ठ, प्रा।लक्ष्मणकुमार गौतमलगायतले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
साहित्यकार विवश पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै कवि सुवेदीले विभिन्न साहित्यिक कार्यक्रममा वाचन गर्नुभएको र विभिन्न पत्रपत्रिकामा प्रकाशित कविताको सङ्ग्रह दशकौंपछि प्रकाशित गर्नुभएकोमा बधाई दिनुभयो । उहाँले कवियत्री सुवेदीका अन्य कृति पनि प्रकाशित होस् भन्ने शुभकामना व्यक्त गर्दै, लोकार्पण भएको पुस्तकबाट कविता बाचन गर्नुभयो । खुसी अधिकारीले आफ्नी साहित्यकार हजुरआमा तारा सुवेदीको कविता सङ्ग्रहबाट केटाकेटी र समय शीर्षको कविता वाचन गर्दै उहाँको मेहनत र धेर्यको उपजले मूर्त रुप पाएको बताउनुभयो ।
त्यसैगरी साहित्यकार राधेश्याम लेकालीले स्रष्टा समाजमा आवद्ध भएर करिव दुई दशकदेखि कविता वाचनलगायतका विविध साहित्यिक गतिविधिमा संलग्न सर्जक सुवेदीको कविता सङ्ग्रहमा अत्यन्त राम्रा सन्देशमुलक कविताहरु सङ्ग्रहित रहेको बताउनुभयो । उहाँले समाजमा आवद्ध सबै सर्जक र अन्य सर्जकलाई समेत कृति प्रकाशनका लागि प्रेरित गर्ने स्रष्टा समाजकै कोषाध्यक्ष सुवेदीको यस कृतिपछि अन्यले पनि प्रेरणा लिने आशा व्यक्त गर्नुभयो ।
प्रा. समालोचक लक्ष्मण कुमार गौतमले यस कृतिमा भूमिका लेख्ने क्रममै सबै कवितालाई राम्ररी पढ्ने अवसर पाएको र सबै कविता उत्कृष्ट लागेको विचार व्यक्त गर्नुभयो । सो अवसरमा साहित्यकार भागिरथी श्रेष्ठले कवि तारा सुवेदी आफ्नै माइती गाउँकी सर्जक समेत रहनुभएको र सँगै साहित्यिक कार्यक्रममा सहभागी हुँदै आज अनुभूतिका महक कविता सङ्ग्रह समेत प्रकाशित गर्दा आफु ज्यादै हर्षित भएको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्