नेपाल । लेखक गुरुराज घिमिरेका दुई पुस्तक ‘बुद्ध, बिपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति पुष्पा भुसाल, उपसभापति विश्वप्रकाश शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँलगायतले मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा ती पुस्तक संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले आफू राजनीतिमा पाइला चाल्दादेखि नै चर्चामा रहेका व्यक्तित्व घिमिरेले राजनीतिसँगै साहित्यका माध्यमबाट राजनीतिलाई सही दिशा देखाउन गर्नुभएको प्रयत्नको सराहना गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस दलले नेपाली राजनीतिमा निरन्तर भोगेको अप्ठ्यारो सजिलो सबै परिस्थितिमा सहकार्यमा रहनुभएका महामन्त्री घिमिरेका विचार र कवितामार्फत उहाँको व्यक्तित्व झल्कने बताउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति भुसालले बिपीको विचार र बुद्धका सन्देश आजको समय र भविष्यमा समेत सान्दर्भिक रहेकाले लेखक घिमिरेले पुस्तकमार्फत दिनुभएका विचारले कांग्रेसको नेतृत्व भयबाट मुक्त र सबैको कांग्रेस बनाउन लागिपर्नुपर्ने सन्देश दिएको बताउनुभयो । उपसभापति विश्वप्रकाश शर्माले राजनीतिज्ञभित्र भएको साहित्यको चेतले राजनीतिलाई समेत सही गति दिने बिपीकै उदाहरण काफी रहेको बताउनुभयो । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेता, पार्टीहरू सधैँभरि दुखिरहने घाउ बनेको सन्दर्भमा प्रकाशित पुस्तकको सफलताको शुभकामना व्यक्त गर्दै आफू साहित्यकार नभए पनि अब पढ्ने कोसिस गर्ने विचार व्यक्त गर्नुभयो ।
लेखक घिमिरेले शिखा बुक्स प्रकाशनका संस्थापक पुष्पराज पौडेलले आफ्ना कृति प्रकाशन गरी सहयोग गर्नुभएकोमा कृतज्ञता व्यक्त गर्दै सबैको उत्साहजनक उपस्थितिले पुस्तक लोकार्पण समारोह उत्सव बनेको बताउनुभयो । उहाँले विचारमा पनि खुलेर लेख्ने समय त छैन, कवितामा भने साहित्यिक भाषामा मन खोलेर व्यङ्ग्य वा विम्बात्मक धारबाट लेख्न सकिने भएकाले राजनीतिका उकुसमुकुसलाई विचार र कवितामा पोख्ने बानी बसालेको बताउनुभयो । राजनीतिक विश्लेषक शङ्कर तिवारीले पुस्तकमाथि समीक्षा गर्दै लेखकले गौतम बुद्धको करुणा, बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र आजका राजनीतिक नेतृत्वको दायित्वलाई विश्लेषण गरेको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्