नेपाल । धनकुटाकी कवि सावित्री अधिकारीद्वारा लिखित ‘खरको कलम माटाको कापी’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ। सल्लेरी मिडिया रिसर्च सेन्टर धनकुटाको आयोजनामा आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।
वरिष्ठ साहित्यकार कुन्ता शर्मा र धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संयुक्त रूपमा सो कृतिको लोकार्पण गर्नुभएको हो । सार्वजनिक कविता सङ्ग्रहमा ३९ वटा कविता समावेश गरिएका छन् । पहिले–पहिले कलम र कापी सहजै नपाइने हुँदा माटोमा लेखेर अक्षर सिकेको पृष्ठभूमि र बाल्यकाल तथा जागिरे जीवनमा देखेका, सुनेका एवं भोगेका अनेकन् विषयवस्तुलाई समेटेर कविता सिर्जना गरिएको स्रष्टा अधिकारीले बताउनुभयो।
विसं २००७ असोज ८ गते साविक कुरुलेतेनुपा गाविस (हाल चौबिसे गाउँपालिका–४) मा जन्मनुभएकी अधिकारी राष्ट्रिय वाणिज्य बैकमा २५ वर्ष सेवा गरी विसं २०६० मा सेवाबाट निवृत्त हुनुभएको हो। यो उहाँको पहिलो कविता सङ्ग्रह हो।
कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले समाजमा शान्ति फैलाउन र सकारात्मक परिवर्तन ल्याउन साहित्यिक कृतिको अहम् भूमिका हुने बताउनुभयो। उहाँले भन्नुभयो, “समाज बदल्न कवि तथा लेखकहरूको ठुलो योगदान रहन्छ। यस्ता कृतिले समाजमा विशेष गरी युवाहरूलाई नैतिक शिक्षा प्रदान गर्नुका साथै उत्कृष्ट साहित्यिक उपहारको काम गर्छन्। साहित्यले जहिले पनि जुनसुकै वर्गलाई नजिक बनाउने र सम्बन्ध जोड्ने सामर्थ्य राख्छ।”
सो अवसरमा धनकुटाका विभिन्न क्षेत्रमा क्रियाशील साहित्यकारहरूले आफ्ना ओजपूर्ण रचनाहरू समेत वाचन गर्नुभएको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्