नेपाल । नवोदित उपन्यासकार शिक्षाश्री केसीको उपन्यास ‘चाँदू’ सार्वजनिक भएको छ। एसिड आक्रमणका कारण उत्पन्न सामाजिक समस्यालाई केन्द्रमा राखेर लेखिएको उपन्यासको शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबिच विमोचन गरिएको हो।
इन्जिनियरिङमा स्नातक गर्नुभएकी शिक्षाश्रीले नेपाली समाजमा एसिड प्रहारबाट भएका जघन्य घटनालाई समाजको ठुलो समस्याका रूपमा उपन्यासमा प्रस्तुत गर्नुभएको हो।
उपन्यासको विमोचन गर्नुहुँदै प्रतिनिधि सभाका पूर्वसदस्य विन्द्यवासिनी कंशाकारले एसिड प्रयोग गरी महिलालाई पीडा दिने सामाजिक समस्याको निराकरणका लागि कडा कानुनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। उहाँले आफूलाई एसिडपीडितभन्दा पनि ‘एसिड योद्धा’ का रूपमा प्रस्तुत गर्ने गरेको स्मरण गराउँदै ‘चाँदू’ उपन्यासकी नायिका चाँदनीको कथा आफ्नै जस्तो लागेको सुनाउनुभयो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य धर्मराज केसीले एसिड आक्रमण जस्ता क्रूर समस्याको निराकरणका लागि सामाजिक मनोविज्ञानमा परिवर्तन ल्याउनु आवश्यक रहेको चर्चा गर्नुभयो। उहाँले आफूले यसअघि शिक्षा मन्त्रीको सल्लाहकार रहँदा साहित्यमार्फत शिक्षाको अभियानका लागि पहल गरेको स्मरण गर्नुहुँदै ‘चाँदू’ साहित्यमा एक नयाँ र सकारात्मक प्रयोग भएको टिप्पणी गर्नुभयो।
साहित्यिक पत्रकार राजकुमार बानियाँले ‘चाँदू’ तेजाब आक्रमणको आख्यान मात्र नभएर सामाजिक अपराधमाथिको गम्भीर बहस भएको बताउनुभयो।
होली गार्डेन स्कुलका प्रिन्सिपल डा. किरण प्रधानले आफूले पढाएकी सानी बालिकाको प्रतिभाको कदर गर्दै आमाबाबु पछिको सबैभन्दा बढी खुसी आफूलाई लागेको बताउनुभयो।
उपन्यासकार शिक्षाश्री केसीले आफूले बाल्यकालदेखि नै साहित्यमा रुचि राखेको र समाजमा घटेका एसिड आक्रमणको घटनाले मन छोएपछि त्यसै समस्यालाई केलाउँदै उपन्यासको रूप दिएको बताउनुभयो। इन्जिनियरिङको अध्ययन र उपन्यास लेखनलाई क्रमशः दिन र रातको कामको रूपमा व्यवस्थापन गर्दै कठिन समयमा यो गम्भीर विषय उठान गरेको उहाँले स्मरण गर्नुभयो।
शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले एक जना जेहेनदार विद्यार्थीले साहित्यमा रुचि राखेर प्रकाशनको आग्रह गर्दा आफूले प्रकाशन गरेर प्रेरणा दिएको बताउनुभयो। उहाँले उपन्यासले अत्यन्तै गम्भीर विषय समेटेको जानकारी दिँदै नेपालबाहिर खास गरी भारतीय नेपाली भाषी क्षेत्रसम्म नेपाली प्रकाशनहरू पुर्याउन आइपर्ने अड्चन हटाउन राज्यले पहल गर्नुपर्नेमा जोड दिनुभयो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्