१ असार २०८३, सोमबार

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति, शुक्रबार सम्झौतामा हस्ताक्षर

कोलोराडोखबर संवाददाता , June 15th, 2026

अमेरिका । संयुक्त राज्य अमेरिका र इरानबीच विगत तीन महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने र विश्वकै महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मोज’ पुनः सञ्चालनमा ल्याउने ऐतिहासिक सहमति भएको छ।

सम्झौताले विगत केही महिनादेखि मन्दी र ऊर्जा सङ्कटको सामना गरिरहेको विश्व अर्थतन्त्रलाई ठूलो राहत दिने संकेत गरेको छ।

मुख्य मध्यस्थकर्ता मुलुक पाकिस्तानका अनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा दुवै देशबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुनेछ। इरानले सम्झौताको पूर्ण पाठ सोही हस्ताक्षर कार्यक्रमपछि मात्रै सार्वजनिक गरिने जनाएको छ। इरानको आणविक कार्यक्रम जस्ता गम्भीर र जटिल विषयहरूमा भने आगामी दिनहरूमा छलफल गरिने अपेक्षा गरिएको छ।

सम्झौता पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, ‘सबैलाई बधाई… म हर्मोजलाई निःशुल्क (टोलफ्री) रूपमा खुला गर्ने पूर्ण अधिकार दिन्छु। साथै, इरानले जलमार्गमा गरेको नियन्त्रणको बदलामा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीलाई तुरुन्त हटाउने अनुमति पनि प्रदान गर्दछु।’

आफ्नो पोस्टमा उत्साह थप्दै ट्रम्पले अगाडि लेखेका छन्, ‘विश्वका जहाजहरू हो, आफ्ना इन्जिनहरू शुरू गर। अब तेललाई बग्न देऊ…’ राष्ट्रपति ट्रम्पले शुक्रबारको औपचारिक हस्ताक्षर नभएसम्म जलमार्ग पूर्णरूपमा नखुल्ने स्पष्ट पारे पनि अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी खुकुलो पार्ने र इरानलाई आफ्नो तेल बेचेर अर्थतन्त्र सुदृढ गर्न प्रतिबन्धहरूमा सहुलियत दिने सहमति गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्