२५ जेष्ठ २०८३, सोमबार

अमेरिकाको ओहायोमा गोली चल्दा १२ जना घाइते

कोलोराडोखबर संवाददाता , June 8th, 2026

अमेरिका । अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिको खोजीकार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

टोलेडो प्रहरी विभागका उपप्रमुखका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई जना व्यक्तिले एक अर्कातर्फ गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ । घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा आयोजना हुँदै आएको वार्षिक सामुदायिक उत्सवको आसपास भएको बताइएको छ ।

उक्त उत्सवमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरको अवलोकन जस्ता गतिविधि सञ्चालन भइरहेका थिए । गोली चलेपछि उत्सव स्थलमा उपस्थित सर्वसाधारणमा त्रास फैलिएको थियो । प्रत्यक्षदर्शीका अनुसार अचानक गोलीको आवाज सुनिएपछि मानिस ज्यान जोगाउन चारैतिर भागेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही दृश्यमा मानिस भागदौड गरिरहेको तथा आपतकालीन सेवाका कर्मचारीले घाइतेको उद्धार गरिरहेको देखिएको छ । घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले आफू साथीसँग साङ्गीतिक कार्यक्रम हेरिरहेका बेला लगातार गोली चलेको आवाज सुनेको बताउनुभयो । उहाँका अनुसार गोली चलेपछि सबै जना भुइँमा पल्टिएका थिए ।

केही समयपछि उनले आफू नजिकै एक हतियार फालिएको देखेका थिए । उत्सवको सुरक्षाका लागि त्यहाँ खटिएका प्रहरी तत्काल घटना स्थलमा पुगेका थिए । ओहायोका गभर्नरले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै गर्मीयामका सामुदायिक उत्सव परिवार र बालबालिकाका लागि सुरक्षित स्थान हुनुपर्ने बताउनुभयो ।

उहाँले हिंसात्मक घटनाले समुदायमा असुरक्षा र त्रास फैलाउने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धानको अपेक्षा व्यक्त गर्नुभएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि सक्रिय खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ । हालसम्म कसैलाई पक्राउ गरिएको वा घटनाको स्पष्ट कारण सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्