२४ जेष्ठ २०८३, आईतवार

परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

कोलोराडोखबर संवाददाता , June 7th, 2026

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिबार साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको विदेशमन्त्री डा जयशङ्करले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा शुक्रवार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच भेटवार्ता भएको थियो ।

परराष्ट्रमन्त्री खनालले शुक्रवार नै नयाँ दिल्लीमा इण्डिया फाण्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गरेका थिए ।

उनी भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्