२३ जेष्ठ २०८३, शनिबार

कविताः अठोट

कोलोराडोखबर संवाददाता , June 6th, 2026

-सुदीपभद्र खनाल-
ऊँटको रूप हेरिन्न हेरिन्छ मरु-उत्क्रम
गधाको श्वर हेरिन्न हेरिन्छ त्यसको श्रम
व्यवस्था रूपमा हैन सारमा हेर्नुपर्दछ
देशलाई दियो त्यस्ले के के त्यो हेर्नुपर्दछ

बोलेर मात्र बन्दैन कर्मले देश बन्दछ
नभए स्तुत्य सत्कर्म छिटै विस्मृत बन्दछ
चिरस्थायी सदा सत्य बलवान् छ सधैँ पला
सुनिन्छ वाद्यमा ताल हेरिन्छ नृत्यमा कला

माटोको महिमा गाऊ महकिन्छ मरुस्थल
न्यायको गीत घन्काऊ झुक्छ उम्दा महाबल
फेरिन्न कहिल्यै देश निकृष्ट परिपाठले
माटो विरुद्द जो उठ्छ सिद्दिन्छ अभिशापले

निष्ठा आधारमा उठ्छ समृध्दि राष्ट्रको सदा
राष्ट्र निर्माणमा मात्रै प्रयोग गर सम्पदा
निश्वार्थ मनले बोल स्वराष्ट्र निम्ति गर्नुछ
राष्ट्रकै निम्ति बाँचेर राष्ट्रकै लागि मर्नुछ

-केन्द्रीय उपाध्यक्ष, अनेसास ।

प्रतिक्रिया दिनुहोस्