नेपाल । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ।
यसअघि उनी मरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए । त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए ।
मरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो।
नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौँमा विस्तृत रूपमा छलफल गर्ने सहमतिसमेत भएको थियो।
जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री शाहले प्रोटोकल कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिश्रीको भ्रमण स्थगित भएको थियो ।
यहीबीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरेपछि विवाद बल्झिएको छ। मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो । तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि १ जुन (१८ जेठ) का लागि निर्धारित उक्त सम्मेलन स्थगित भयो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्