नेपाल । संघीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङ्गलबारदेखि नै लागु हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिपी राजमार्गको भकुण्डेबेँसी–खुर्कोट सडक खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो।
उहाँले रातको समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु र सवारी साधनको सुरक्षाका लागि अनिश्चितकालीन रोक लगाइएको जानकारी दिनुभयो। समितिले तोकिएको समयबाहेक पनि वर्षा, रोशी खोलामा आउन सक्ने बाढी र मौसमको अवस्था हेरी आवश्यकताका आधारमा जुनसुकै बेला अल्पकालीन रूपमा सडक बन्द गर्न सकिने जनाएको छ।
सोमबारको घटना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनलाई ध्यानमा राखी काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीबिच भएको टेलिफोन संवादका आधारमा यो निर्णय लिइएको हो। निर्माणाधीन बिपी राजमार्गमा वर्षाका कारण चालु आर्थिक वर्षमा हालसम्म दर्जनौँ पटक सडक अवरुद्ध भइसकेको छ। जिल्ला सुरक्षा समितिले यसअघि पनि चार पटक राजमार्ग बन्द गराइसकेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्