८ कार्तिक २०८३, आईतवार

एमालेसँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने तर तत्काल पार्टी एकताको कुनै सम्भावना छैनः प्रचण्ड

कोलोराडोखबर संवाददाता , October 25th, 2026

नेपाल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भए पनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरे।

कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको बताए।

शान्ति प्रक्रियायता पार्टीका नामहरू बदलिए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ।

राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार रक्षाका निम्ति आवश्यकताअनुसार जो–कोहीसँग पनि संवाद र सहकार्य गर्न सकिने तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्