१२ बैशाख २०८३, शनिबार

लघुकथा: अदालत

कोलोराडोखबर संवाददाता , April 25th, 2026

-आरसी रिजाल-
नाति — हजुरबा ! मान्छेहरु पाप पखाल्न भनेर गंगाजीमा जान्छन् । बाहिर शरीरमा त मयलमात्र देखिन्छ। पाप मयलमा टाँसिएको हुन्छ र नुहाउदा पखालिन्छ ?.

हजुरबा — पाप भनेको मनभित्रको मयल हो। सफा मनमा यसले बास पाउँदैन।यदि तिर्थ गएर गंगा स्नानले पाप पखालिने हो भने सफा हृदय भएकाहरुको मात्र पखालिएला कि ? कालो मन हुनेको पाप पखाल्न त गंगालाई नै पाप लाग्ने हुँदा पखाल्दिनन्।

नाति — हजुरबा ! अनि कालो मन हुनेको पाप कुन तिर्थको कुन नदिमा गएर कसरी पखालिन्छ त ? पाप मोचन हुनपाउने उनिहरुको पनि अधिकार होला ?

हजुरबा — नातिलाई आफुतिर तान्दै कानमा फुसफुसाउछ्न् — हेर यो कुरा अरुलाई नसुनाउनु । कालो मनहुनेलाई कुनै गंगाधाम धाउन पर्दैन। उनिहरुलाई आफ्नै देसको अदालतले पखालिदिन्छ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्