११ बैशाख २०८३, शुक्रबार

शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 20th, 2026

नेपाल । लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा लघुकथा समाज नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरू अशेष मल्ल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. पुरुषोत्तम दाहाल, तुलसीहरि कोइरालालगायतले कृति सार्वजनिक गरे ।

कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले पछिल्लो दशकमा सबैभन्दा अधिक लघुकथा लेखिँदै आइएको बताउँदै हरेक मान्छेसँग कथा हुने, तर उसले त्यसलाई कसरी प्रस्तुत गर्छ भन्ने विषय महत्त्वपूर्ण भएको उल्लेख गरे ।

मल्लले भने, “सौन्दर्यबोध गरेर कथा सिर्जना गर्न सके त्यो शक्तिशाली र सुन्दर बन्न सक्छ ।”

समाजका संस्थापक अध्यक्ष ‘रोदन’ले कथाकार अधिकारीमा दूरदृष्टिचेत बेजोडको रहेको बताए ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै अनुपमा रेग्मीले शोभाका लघुकथाहरू चोटिला रहेको बताइन् । अर्का समीक्षक सुमन वर्षाले नेपाली समाजलाई केन्द्रबिन्दु बनाएर लेखिएका लघुकथाहरूमा माया, प्रेम, हार्दिकता, सद्भाव अभिव्यक्त भएको बताइन् ।

कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार प्रा। दाहाल, शिक्षक विमला नेपाल, कवि ठाकुर बेलवासे, तुलसीहरि कोइराला र कृतिकार अधिकारीले आफ्ना धारणा राखे ।

कार्यक्रममा सार्वजनिक कृतिबाट भूपी ऐरले लघुकथा वाचन गरिन् ।

प्रतिक्रिया दिनुहोस्