३ बैशाख २०८३, बिहीबार

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति दिने कार्य सुचारु

कोलोराडोखबर संवाददाता , April 16th, 2026

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसियाका चार वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको छ ।

मङ्गलबारदेखि इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य सुचारु गरेको हो ।

विभागका अनुसार गएको चैत ५ गतेदेखि पश्चिम एसियाका सात देश साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति दिँदै आएको विभागले बाँकी चार देश इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पनि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।

सरकारले गएको चैत १७ गतेदेखि पश्चिम एसिया क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखेर विभागले व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति प्रदान गर्ने कार्य स्थगन गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८२ चैत ३० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सम्बन्धित सबैलाई जानकारी गराउँदै यो व्यवस्था लागु गरिएको विभागका महानिर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

इराकको हकमा भने मन्त्रीपरिषद्को २०८२ पुस ११ गतेको निर्णयबमोजिम श्रम स्वीकृति प्रदान गरिने जनाइएको छ । यसअघि विभागले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्