नेपाल । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्था गर्न परिचयपत्र उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घाइतेलाई परिचयपत्र उपलब्ध गराउन गृह मन्त्रालयले प्रारम्भ थाल्ने जानकारी दिनुभयो ।
मन्त्री खरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको पुनः उपचार अर्थात् फलोअपका लागि अस्पताल तोक्नुका साथै ती अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।
“घाइतेको निःशुल्क आवतजावतसँगै उपचारको समेत व्यवस्था मिलाउने निर्णय भएको छ । घाइतेको उपचारका लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेर निजको सम्पर्क नम्बर सार्वजनिक रूपमा राखिने छ,” उहाँले भन्नुभयो, “घाइतेको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरेर तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको छ । प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइतेलाई उचित राहतको व्यवस्था मिलाइने छ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ बैठकमा सहभागी हुन स्वीकृत दिने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ । मुग्लिङ–पोखरा सडक अन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिङ बजारको पारितिर त्रिशूली किनार गोरखातर्फदेखि मस्र्याङ्दी नदीको किनारको बायाँ हुँदै मस्र्याङ्दी विद्युत्को पारितिर सडक बनाउन मापदण्ड स्वीकृत गरेको उहाँले बताउनुभयो । उक्त सडकको दायाँबायाँ १५÷१५ कुल ३० मिटर सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्