१७ बैशाख २०८३, बिहीबार

संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमिनिस्तान जाँदै

कोलोराडोखबर संवाददाता , August 3rd, 2025

नेपाल । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराएका थिए ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमिनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्