२५ माघ २०८१, शुक्रबार

सोमबार विभिन्न महत्वले भरिपूर्ण माघे सङ्क्रान्ति पर्व मनाईँदै

कोलोराडोखबर संवाददाता , January 15th, 2024

नेपाल । माघ १ गते सोमबार माघे सङ्क्रान्ति पर्व मनाईँदै छ । आजको दिनलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण सुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ। स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरू हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्