२४ असार २०८२, मंगलवार

सर्लाहीको बरहथवा घटनाः ११ बुँदे सहमतिपछि आन्दोलन फिर्ता

कोलोराडोखबर संवाददाता , January 8th, 2024

नेपाल । सर्लाहीको बरहथवा गत शुक्रबार भएको घटना विषयमा ११ बुँदे सहमति भएको छ ।

प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि तीन दिन देखी बरहथवा अशान्त थियो ।

सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।

सहमतिका बुँदाः
१. आन्दोलनको क्रममा असमायिक निधन भएका युवा व्यवसायी जयशंकर साहप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदन व्यक्त गर्ने ।

२. गृहमन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रुपमा घटनाको छानविन गर्न सहयोग गर्ने ।

३. मृतक परिवारको एकजनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने ।

४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल संचालन सम्बन्धमा बरहथवा नगरप्रमुख र मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सहकार्य एवं छलफलबाट टुंग्याउने ।

५. मृतकको शालिक अस्पताल प्रांगण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने ।

६. पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने ।

७. मृतकको नामबाट प्रक्रिया पुर्याइ प्रादेशिक अस्पताल बरहथवाको नामकरण गर्ने ।

८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने ।

९. मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने ।

१०. आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने ।

११. मृतकको शव तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने ।

प्रतिक्रिया दिनुहोस्