१७ कार्तिक २०८१, शनिबार

कविताः अब नाम फेरे पनि हुन्छ

कोलोराडोखबर संवाददाता , January 6th, 2024

–आर.आर. चौलागाईं–

नेपालका कम्युनिस्टहरूले
अब नाम फेरे पनि हुन्छ ।

धेरै खाए जातका नाममा
धेरै खाए धर्मका नाममा
धेरै खाए परिवर्तनका नाममा
धेरै खाए विकासका नाममा
धेरै खाए समृद्धिका नाममा ।

धेरै लुटे देशका नाममा
धेरै लुटे जनताका नाममा
धेरै लुटे वर्गका नाममा
धेरै लुटे गरीबका नाममा
धेरै लुटे सर्वहाराका नाममा ।

धेरै झुक्याए मार्क्सका नाममा
धेरै झुक्याए एङ्गेल्सका नाममा
धेरै झुक्याए लेनिनका नाममा
धेरै झुक्याए स्टालिनका नाममा
धेरै झुक्याए माओका नाममा ।

धेरै ढाँटे जनवादका नाममा
धेरै ढाँटे समाजवादका नाममा
धेरै ढाँटे साम्यवादका नाममा
धेरै ढाँटे गणतन्त्रका नाममा
धेरै ढाँटे नयाँ नेपालका नाममा ।

धेरै हसुरे महिलाका नाममा
धेरै हसुरे किसानका नाममा
धेरै हसुरे मजदूरका नाममा
धेरै हसुरे श्रमजीवीका नाममा
धेरै हसुरे शोषित पीडितका नाममा ।

धेरै डकारे सङ्घर्षका नाममा
धेरै डकारे विद्रोहका नाममा
धेरै डकारे क्रान्तिका नाममा
धेरै डकारे समानताका नाममा
धेरै डकारे सामुहिक भावनाका नाममा ।

अहिले त कम्युनिस्टहरूले
दलाल पूँजीपतिहरूसँग हात मिलाएका छन्
अहिले त कम्युनिस्टहरूले
शोषक र सामन्तहरूसँग घाँटी जोडेका छन्
अहिले त कम्युनिस्टहरूले
भ्रष्टाचारीहरूसँग साइनो गाँसेका छन्
अहिले त कम्युनिस्टहरूले
प्रतिक्रियावादीहरूसँग मित लगाएका छन् ।

हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्