नेपाल । थरिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा रत्नायकेले अविजित ५३ रनको योगदान दिनुभयो । उहाँले ४२ बलमा उक्त रन बनाउनुभएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाउनुभयो । उहाँले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गर्नुभएको थियो ।
सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपरेको थियो ।
चितवनले भने एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्