सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू
अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२५–२०२७ कार्यकाल)
गैरआवासीय नेपाली संघ।
महोदय/महोदया,
गैरआवासीय नेपाली संघ (यसपछि ‘संघ’ भनिएको) को विधान, २००३ (२०२६ को संशोधनसहित) को प्रस्तावनाले संघलाई गैरराजनीतिक संस्थाका रूपमा स्थापित गरेको व्यहोरा यहाँहरूलाई अवगत नै छ। संघको गैरराजनीतिक पहिचान, संस्थागत स्वायत्तता तथा स्वतन्त्र अस्तित्व संघको आधारभूत संस्थागत संरचना (Basic Structure) का अभिन्न अंग हुन्। यी मान्यता संघको संस्थागत विश्वसनीयता, एकता र उद्देश्यको निरन्तरतासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका छन्।
संघको उक्त आधारभूत संस्थागत चरित्र, मूल्य, मान्यता तथा उद्देश्यको सम्मान, संरक्षण र परिपालना गर्नु संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको संस्थागत दायित्व हो। संघको विधान र संस्थागत निर्णयको पालना गर्दै संघको गैरराजनीतिक स्वरूप अक्षुण्ण राख्नु प्रत्येक पदाधिकारी तथा सदस्यको जिम्मेवारीसमेत हो।
यसै सन्दर्भमा, संघका केही पदाधिकारी तथा सदस्यहरू राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा निर्वाचित, मनोनीत वा चयन भएको सम्बन्धमा संघमा विभिन्न उजुरी तथा गुनासाहरू प्राप्त भएका छन्।
प्राप्त उजुरी तथा गुनासाहरू र संघको संस्थागत चरित्रको संरक्षणसम्बन्धी विषयमा मिति २०८३/०६/१८–१९ (४–५ अक्टोबर २०२६) मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा विस्तृत छलफल भई संघको गैरराजनीतिक पहिचान, संस्थागत स्वायत्तता तथा विधानमा निहित मूलभूत मान्यताहरूको संरक्षण र परिपालना सुनिश्चित गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ।
उक्त बैठकको निर्णय कार्यान्वयन गर्ने तथा संघको संस्थागत मर्यादा र गैरराजनीतिक चरित्रलाई व्यवहारमा सुनिश्चित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई देहायबमोजिम संस्थागत रूपमा सूचित गरिन्छ:
१. राजनीतिक उद्देश्य भएका संस्थामा पद धारण नगर्ने सम्बन्धमा
संघका कुनै पनि पदाधिकारी वा सदस्यले राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यको पद धारण नगर्नुहुन अनुरोध गरिन्छ।
२. हाल धारण गरिरहेको पद वा सदस्यता त्याग गर्ने सम्बन्धमा हाल त्यस्ता राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा रहनुभएको भए, यो परिपत्र प्राप्त भएको मितिले सात (७) दिनभित्र त्यस्तो पद वा सदस्यता त्याग गरी सोको आधिकारिक प्रमाणसहित लिखित जानकारी संघको सचिवालयमा उपलब्ध गराउनुहुन निर्देशित गरिन्छ।
३. निर्णय कार्यान्वयन तथा आवश्यक कारबाही सम्बन्धमा तोकिएको अवधिभित्र पद वा सदस्यता त्याग गरेको प्रमाणसहितको जानकारी प्राप्त नभएमा वा यस सम्बन्धमा प्राप्त उजुरी तथा गुनासाहरूको छानबिनबाट विधानविपरीत कार्य भएको देखिएमा, संघको विधान तथा प्रचलित कानूनबमोजिम आवश्यक छानबिन तथा कारबाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ।
यो परिपत्र कुनै व्यक्तिगत आग्रह वा सामान्य निर्देशनमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकको निर्णय कार्यान्वयन, संघको विधानको परिपालना तथा संघको गैरराजनीतिक पहिचान र संस्थागत स्वायत्तताको संरक्षणका लागि जारी गरिएको औपचारिक संस्थागत परिपत्र हो।
अतः संघको संस्थापक उद्देश्य, विधानमा निहित मूलभूत मान्यता, संस्थागत मर्यादा तथा गैरराजनीतिक चरित्रको संरक्षण र निरन्तरताका लागि यहाँहरू सबैबाट जिम्मेवार, प्रतिबद्ध र सहयोगात्मक भूमिका निर्वाह हुने अपेक्षा गर्दछौं।
यो परिपत्र तत्काल लागू हुनेछ।
धन्यवाद।
भवदीय,
…………………………………………
डा. चिरञ्जीवी खड्का
महासचिव
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्