नेपाल । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहनु भएका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवबहादुर नेपालीलाई आठ वर्ष कैद सजाय भएको छ ।
दुई वर्षदेखि जिल्ला कारागार बागलुङमा रहनु भएका नेपालीलाई जिल्ला अदालत कास्कीले आठ वर्ष कैद र एक करोड २६ लाख जरिवाना हुने फैसला गरेको हो ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले कास्कीमा रहेको इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिनामा नेपालीको संलग्नता ठहर गर्दै यस्तो सजाय गरेको हो । नेपालीले कास्की र बागलुङमा एउटै नाम इमेज राखेर सहकारी स्थापना गर्नु भएको थियो ।
अदालतले कात्तिक ९ गते कसुर ठहर गरी कात्तिक १७ गते नेपालीसहितका प्रतिवादीको सजाय निर्धारण गरेको थियो । फैसलाको पूर्ण पाठ आउन भने बाँकी छ । अदालतले इमेजका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र सञ्चालकहरु निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद हुने फैसला गरेको छ । जरिवाना भने सबैलाई समान एक करोड २६ लाख तोकिएको छ ।
जिल्ला अदालत कास्कीका अधिकृत तारानाथ पोखरेलले एक सय १० बचतकर्ताको जाहेरीमा अहिले फैसला आएको बताउनुभयो । सो मुद्दामा सहकारीका करिब चार सय सेयर सदस्यसँग भने मिलापत्र भएको थियो । मिलापत्र हुन नसकेका बचतकर्ताले पूरक अभियोगका रूपमा जाहेरी दिएका थिए ।
सहकारीमा समस्या आएपछि फरार बन्नु भएका नेपालीलाई रेड कर्नर नोटिस जारी २०८१ असोज ११ गते पक्राउ गरिएको थियो । कास्कीकै सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीमा पनि नेपाली प्रतिवादी हुनुहुन्छ । सूर्यदर्शनका पूर्व उपाध्यक्षसमेत रहनु भएका नेपालीविरुद्ध यो मुद्दामा एक करोड ५४ लाख ४९ हजार ८३९ रुपियाँ बिगो माग दाबी लिइएको छ । यो मुद्दा अहिले विचाराधीन छ ।
२०७४ अघि नेपाली नेकपा माओवादीमा आवद्ध नेपाली नगर प्रमुखको टिकट नपाएपछि एमाले प्रवेश गरी टिकट लिई निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकालमा पनि एमालेबाटै नगर प्रमुख बन्नु भएका उहाँ सहकारी ठगी प्रकरण चर्किएपछि उपप्रमुख धनबहादुर कायतलाई कार्यवाहक दिएर सम्पर्कविहीन बन्नु भएको थियो ।
बागलुङको इमेज बचत तथा ऋण सहकारीमा नेपालीले करिब दुई अर्ब अपचलन गरेको अभियोग छ । उहाँविरुद्ध एक अर्ब ५८ करोड बिगो मागदावीसहित २०८२ भदौ २३ गते सम्पत्ति शुद्धिकरण मुद्दासमेत दर्ता भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्