२५ कार्तिक २०८३, बुधबार

जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सको २७ रनको सहज जित

कोलोराडोखबर संवाददाता , November 11th, 2026

नेपाल । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको सहज जित निकालेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको यो चौथो जित हो । जनकपुर बोल्ट्सले भने लगातार तेस्रो खेलमा पराजय व्यहोरेको छ।

आफ्नो खेलमा छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सवै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जेम्स निशमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन बनाउनुभयो । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सक्नु भएन ।

बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुग्लाइनले ३ तथा कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान एक एक विकेट लिनुभयो। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिम रोयल्सका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११, सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाउनुभयो । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक एक विकेट लिनुभयो ।

यो जितपछि सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम रोयल्सले छ खेलबाट ८ अङ्क जोडेको छ । जनकपुरसँगको जितसँगै सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बनेको छ।

मंगलबारको हारपछि जनकपुर बोल्ट्सको प्लेअफ यात्रा कठिन बनेको छ । उसले छ खेल खेल्दा चार खेलमा हार तथा दुई खेलमा मात्र जित निकालेको छ । जनकपुर बोल्ट्सले अब लिग चरणमा एउटा खेल मात्र खेल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्