२० आश्विन २०८३, मंगलवार

न्युरोड पुस्तक पब्लिकेसनद्वारा प्रकाशित तीन वटा साहित्यिक कृति एकसाथ सार्वजनिक

कोलोराडोखबर संवाददाता , October 6th, 2026

नेपाल । न्युरोड पुस्तक पब्लिकेसनद्वारा प्रकाशित तीन वटा साहित्यिक कृति एकसाथ सार्वजनिक गरिएको छ ।

सोमबार आयोजित समारोहमा साहित्यकार श्रवण मुकारुङले लेखक रूपक अधिकारीको उपन्यास ‘लाटो क्यानभास’, पविन दाहालको ‘रातो अभिलेख’ र युसन बस्नेतको ‘कुमारीत्व’ सार्वजनिक गर्नुभयो । विमोचन गर्दै साहित्यकार मुकारुङले साहित्य सिर्जनामा चिन्तन र सामाजिक यथार्थको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । साहित्यले समाजका विविध पक्षलाई अभिव्यक्त गर्दै पाठकलाई सोच्न र प्रश्न गर्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।

विमोचित ‘कुमारीत्व’ मा बलात्कारलगायतका सामाजिक घटना र त्यसले निम्त्याउने समस्या तथा प्रभावलाई कथावस्तुमार्फत प्रस्तुत गरिएको छ । त्यसै गरी पविन दाहालको ‘रातो अभिलेख’ सस्पेन्स तथा थ्रिलर शैलीमा लेखिएको कृति हो । यो लेखकको यसअघि प्रकाशित ‘तराजुमा प्रेम’ पछिको दोस्रो कृति हो । रूपक अधिकारीको ‘लाटो क्यानभास’ मा प्रेम, सम्बन्ध र त्यससँग जोडिएका भावनालाई चित्रात्मक तथा विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

कृतिले प्रेमको अमरता तथा मानवीय सम्बन्धका विभिन्न रङलाई साहित्यिक रूपमा उजागर गर्ने प्रयास गरेको छ । समारोहमा न्युरोड पुस्तक पब्लिकेसनका राजेश गजुरेलले आगामी बडादसैँका अवसरमा पाठकका लागि सानो कोसेलीस्वरूप तीन वटा कृति बजारमा ल्याइएको जानकारी दिनुभयो । पाठकबाट प्राप्त हुने रचनात्मक सुझाव तथा समीक्षाले लेखकलाई आफ्ना आगामी कृति थप परिमार्जन गर्न सहयोग पुग्ने प्रकाशकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्