१८ आश्विन २०८३, आईतवार

मानवीय संकटमा परेका १२ देशलाई १६ करोड डलर सहयोग

कोलोराडोखबर संवाददाता , October 4th, 2026

अमेरिका । संयुक्त राष्ट्रसंघले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट १५ करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको छ ।

त्यसैगरी, यी १२ मानवीय संकटमा रहेका अपांगता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप १ करोड डलर छुट्याइएको छ । यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेशी बनाउन सहयोग गर्ने ओसीएचएले जनाएको छ ।

यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका ८ करोड ७० लाख मानिससम्म सहायता पुर्याउने व्यापक प्रयास अन्तर्गत यो रकम जारी गरिएको हो ।

संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख टम फ्लेचरले सहायता पुर्याउन आर्थिक सहयोगसँगै राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्