नेपाल । वसन्त चौधरी फाउन्डेसन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा जनकवि दुर्गालाल श्रेष्ठको स्मरण गर्दै ‘अक्षरयात्रा–दशक आठ’ स्मृतिसभा सम्पन्न गरिएको छ ।
मंगलबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठको ४५ दिनको पुण्य तिथिमा उनको स्मरण गरियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङंगोलले दुर्गालाल श्रेष्ठ सदासर्वदाका लागि अक्षरहरूमा जीवित रहेको उल्लेख गर्दै महानगरले उनलाई ‘अक्षरमहर्षि’को पदवी प्रदान गरेको जानकारी दिइन् ।
कार्यक्रममा दुर्गालालका ६ कृति डिजिटल रूपमा सार्वजनिक गरियो भने देवनागिरीमा ‘दुर्गालाल फन्ट’ पनि निर्माण भएको जानकारी गराइयो ।
वसन्त चौधरी फाउन्डेसनका संस्थापक चौधरीले आफ्नो काव्यगुरु दुर्गालाल श्रेष्ठप्रति सम्मानभाव तथा श्रद्धासुमन अर्पण गर्दै उनको कविता ‘पार प्रिये ! लौ मदिरा पार…’ लाई गाएर सुनाए । जनकविको यो कविता चौधरीकै आवाजमा रेकर्ड भएको छ ।
चौधरीले जनकविको जीवनकालमै ‘अक्षरयात्रा–आठ दशक’ कार्यक्रमको आयोजना गर्ने योजना बनेको भए पनि त्यो सम्भव हुन नसकेको बताए ।
कार्यक्रममा प्राडा अभि सुवेदी र डा. ज्योति तुलाधरले सार्वजनिक ६ कृतिमाथि दिएको समालोचनात्मक मन्तव्यको भिडियो प्रस्तुत गरियो । कार्यक्रममा जनकवि अक्षरमहर्षि दुर्गालाल श्रेष्ठमाथि निर्मित वृत्तचित्रसमेत प्रस्तुत गरियो ।
जनकवि दुर्गालाल श्रेष्ठका सुपुत्र सुमन श्रेष्ठले पितासँगका केही स्मृति साझा गर्दै केही घरेलु प्रसंगहरू सुनाए । उक्त कार्यक्रममा कविहरू सजक्ता मानन्धर, प्रतिसरा सायमी र रमण घिमिरेले जनकविका रचनाहरू वाचन गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्