९ आश्विन २०८३, शुक्रबार

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको संबोधन–‘नेपालमा हालै आएको विपद् विश्वका लागि गम्भीर चेतावनी’

कोलोराडोखबर संवाददाता , September 25th, 2026

अमेरिका । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले केही मिनेटमै पुल, सडक, विद्यालय, घर तथा मानिसहरूको जीविकोपार्जन बगाएको उल्लेख गरे । दिगो विकास लक्ष्य हासिल गर्दै निरन्तर प्रगतितर्फ अघि बढिरहेको नेपाललाई केही साताअघि आएको विपद्ले गम्भीर रूपमा प्रभावित बनाएको उनको भनाइ थियो ।

उनले नेपालका हिमाली समुदायलाई तहसनहस बनाएको विनाशकारी बाढीका दृश्यले विश्वलाई झस्काएको बताए । प्रधानमन्त्री शाहले हिमालयमा देखिइरहेका यी परिवर्तनलाई नेपाल मात्रै नभई विश्वकै साझा चुनौतीका रूपमा लिनुपर्ने सन्देश दिए ।

त्यस्तै प्रधानमन्त्री शाहले जलवायु न्याय, विश्वव्यापी आर्थिक असमानता र अन्तर्राष्ट्रिय व्यवस्थामाथि प्रश्न उठाए । संयुक्त राष्ट्रसंघ दुईवटा विनाशकारी विश्वयुद्धको अनुभवबाट जन्मिएको बताउँदै यसको प्रतिज्ञा सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको महत्व स्थापित गर्नु तथा हरेक मानवको गरिमा सुनिश्चित गर्नु रहेको जनाए । शक्तिशाली देशहरूले निर्णय गरेका कुरा कमजोर देशहरूले चुपचाप स्वीकार गर्नुपर्ने अवस्था नहोस् भन्ने यसको उद्देश्य रहेको उनले बताए ।

आवश्यक हतियार र सैन्य सामग्री सहजै सीमापार पुग्ने भए पनि आम मानिसको जीवनका लागि आवश्यक वस्तुहरू समयमै उपलब्ध हुन नसकेको बताए । अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीको प्राथमिकतामाथि प्रश्न उठाए ।

प्रधानमन्त्री शाहले नेपालमा भइरहेको पुस्तान्तरणसँगै युवाले राजनीतिक शुद्धता, जवाफदेहिता र आर्थिक अवसरको माग गरिरहेको बताए । प्रधानमन्त्री शाहले युवाको भविष्य सुरक्षित गर्न देशभित्रै स्थिर रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै विश्वव्यापी असमानता, जलवायु न्याय र बहुपक्षीयताको आवश्यकतामाथि जोड दिए । शाहले आफूले तिर्न सक्ने देशले आवश्यक वस्तु खरिद गर्न पाउने अवस्था हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्