नेपाल । नारायणी पुलको पिलरमा राइनो क्रुज जहाज आएर अड्किएपछि ठुला र मालवाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ। पुलमा आवतजावत बन्द हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्।
बाढीले बगाएको क्रुज जहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुलमा आवगमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाने गाडीहरुलाई चितवनमै रोकिएको र पश्चिमबाट पूर्व जाने गाडीलाई खान बस्न पायक पर्ने ठाउँ हेरेर होल्ड गरिएको छ । साना तथा हलुका सवारी साधनलाई भने सम्झाइबुझाई एकतर्फी सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ ।
नवलपुर र यहाँको पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित ५० करोड लागतमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालनमा ल्याएका थिए।
गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा समेत नबगेको क्रुज अहिलेको नारायणीले बगाएपछि पुलको पिलर भाँचिने जोखिम बढेको इलाका प्रहरी कार्यालय गैँडाकोटको इन्चार्ज, प्रहरी निरीक्षण लक्ष्मण गिरीले बताउनुभयो।
साढे दुई तले क्रुजको लम्बाई ९५ फिट र चौडाई २१ फिट रहेको रिभर क्राउन प्रालिका प्रवन्ध निर्देशक दीपक ढुंगेलले बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्