नेपाल । भोटेकोशी–त्रिशूली बाढीपछिको असहज स्थितिलाई ध्यानमा राख्दै प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएका छन् । चलचित्र निर्माण पक्षले यस्तो दुःखको समयमा चलचित्र प्रदर्शन गर्न नहुने भन्दै मिति सारेको हो । भदौ १८ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘बाः एक योद्धा’ ले चलचित्र प्रदर्शन स्थगित गरी नयाँ मिति घोषणा गरेको छ ।
आर्टिस्टिक इन्टरटेन्मेन्टले विज्ञप्तिमा विपत्को समयमा सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नभएको उल्लेख गरेको छ ।
निर्माता वसन्त लम्सालले चलचित्र मङ्सिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने घोषणा गर्नुभयो । ‘बाः एक योद्धा’ परिवारले विपत् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपियाँ पनि सहयोग गरेको छ ।
भदौ १९ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’ ले आफ्नो प्रदर्शन मिति सारेको छ । माया इन्टरटेनमेन्ट स्टुडियोले निर्माण गरेको चलचित्र मङ्सिर ११ गतेदेखि प्रदर्शन हुने जनाएको छ । देश शोकमा रहेको संवेदनशील अवस्थामा हास्यप्रधान चलचित्र प्रदर्शन तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उचित नहुने भएकाले मिति सारेको निर्माता तथा निर्देशक श्रद्धा प्रसाईंले बताउनुभयो ।
‘ककाकिकी’ मा बिक्की अग्रवाल र श्रद्धा प्रसाईको संयुक्त निर्देशनमा निर्माण भएको हो । चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेललगायत कलाकारको अभिनय छ ।
यसै गरी भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘माया भनेकै यस्तो होला’ ले पनि प्रदर्शन स्थगित गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिसकेको छ । रेखा थापा निर्देशित चलचित्र दिया एन्ड अमु फिल्म्सको निर्माण रहेको छ । निर्देशक थापाले देश शोकमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्नु उचित नदेखिएकाले अहिलेलाई प्रदर्शन स्थगित गरिएको बताउनुभयो । ‘माया भनेकै यस्तो होला’ तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने उहाँले जानकारी दिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्