६ भाद्र २०८३, शनिबार

मेरो त बोली नै मिठो छ, सुगर भएर त हैन?

कोलोराडोखबर संवाददाता , August 22nd, 2026

-आर सि पन्त (कोलोराडो, अमेरिका)-
एकदिन डाक्टरको किल्निकमा A1C चेकगरेपछि “तिम्रो त सुगर घटेको छैन त यो ३ महिनामा?” भन्दा मेरो मुखबाट फ्याट जवाफ निस्किहाल्यो र भनिपनि हाले पनि – “ त्यै भएर रहेछ सबैले मेरो बोली मिठो छ भनेका डाक्टर” ! २/४ सेकेन्ड एकएर्कालाई हेर्दै हासियो पनि तर त्यो हासो भित्र लुकेका अरू धेरै नै पिडाहरू त थिदै थिए। जब म कहिलेकॉहि भेटघाट पार्टि तिर जाँदा, केही कुराकानी सुन्छु “कोक त पानीभन्दा सस्तो छ यार, बियर त जुसभन्दा नि सस्तो! पानी किन खाने त बेकारमा?” यसो सुनेर मलाई लाग्छ, लौ यता पनि मेरो १५ बर्ष अधिको सोचाई भएको मान्छे भेटियो! सबैको दिमागमा जस्तै मेरो दिमाग पनि तुरुन्तै यो त सरकारकै योजना त हैन ?

जनतालाई पानीबाट टाढा राखेर, कोकाकोला र बियरमा लठ्याएर, अन्तिममा सबैलाई सुगरको बिल पठाउने ? यो त पुरै “टु-स्टेप बिजनेस मोडेल” रहेछ नि! औषधि कम्पनी, बिमा कम्पनी र सरकारको मास्टर प्लान ! पहिलो स्टेप – पानी भन्दा कोक सस्तो बनाइदेऊ। दोस्रो स्टेप- १० वर्षपछि जनतालाई “ए भाइ, तिम्रो सुगर १६० छ” भनेर सुनाइदेऊ। तेस्रो बोनस स्टेप- औषधि कम्पनीलाई मोटो रकम कमाई गराइदेऊ। र अचम्म के भने, यो पानी नखाने, कोक-बियर खानेको नतिजा मजस्तै धेरैजना अहिले “टाइप-२ डायबिटिजको क्लब” मा भर्ना भइसकेका छन्। न कुनै भर्ना फी, न कुनै इन्ट्रान्स एग्जाम , बस औंलामा एकपल्ट सुई घोच्नुपर्ने, डाक्टरकोमा तिन-तिन महिनामा धाईरहन पर्ने र यदि तपाई पनि म जस्तै हो भने स्वागत छ फ्रि डाईबिजटिज मेम्बरशिप कल्बमा!

अमेरिका आएको छ वर्षपछि, २०१२ मा, मलाई पहिलोपटक मधुमेह (सुगर वा डायबिटिज) भएको थाहा भएको थियो । त्यो पनि कुनै लक्षण नभै वा अस्पताल नगई। मेरा आमा बा नेपालबाट अमेरिका पहिलोपटक घुम्न आउनुभएको बेला। मेरो आमालाई पनि भरखरै वा हालसालै मधुमेह रोग पत्ता लागेको थियो र आफ्नो ग्लुकोमिटर लिएर आउनुभएको थियो, बिहान सुगर जॉंच गर्दा मैले पनि करकापमा जॉंच गरिहालौ न त भनेर पत्ता लागेको रोग हो यो मेरो। धेरैजसो मानिसहरूले जस्तै मलाई पनि सुई (needle) देखेर डर लाग्थ्यो र लाग्छ पनि, तर श्रीमतिज्यू नर्स भएकाले एकपल्ट जॉंच नगरि सुखै पाईएन, आफ्नो मन शान्त पार्न मात्र भनेपनि। र त्यो बिहान केहि नखाई (फास्टिङ) सुगर नम्बर १६० थियो।

त्यो एउटै परीक्षणले मेरो त्यसपछिको आजको दिनसम्मको अर्को चौध वर्षको जीवन नयाँ ढाँचामा लेख्यो। एउटा भ्रम अझै कायम छ दक्षिण एशियाली समुदायभित्र र बाहिर दुवैतिर कि मधुमेह त मोटो, अल्छी, वा खानपानमा लापरवाही गर्ने मानिसहरूलाई मात्र हुन्छ। यो भ्रम किन खतरनाक छ भन्ने कुरा मैले सिधै भन्नु पर्छ यो सत्य होइन, र यसले मानिसहरूलाई परीक्षण गराउनबाट ढिला बनाउँछ, धेरैजसो पछि निकै ढिलो भइसक्छ पनि , लक्षणहरू सबै देखिन थालेको हुन्सक्छ। मेरो व्यक्तिगत स्वस्थ BMI सबै ठिक छ। प्रायजसो घरमा पकाएको खाना नै खाईन्छ, धरै जसो हिँड्छु (हाइकिंग गर्छु)।स्वस्थ हुन र गर्नुपर्ने हरेक देखिने मापदण्डबाट, म “सही गरेको” छु जस्तो लाग्छ। तरपनि किन सुगर भयो त?

सायद मेरो यो जिन (genetics) पो थियो कि? मेरा हजुरबा (मामाघरको) पचासको सुरुवाती उमेरमा, म जन्मेको वर्षमै, कुनै रोग बिना मृत्यु भएको कथा सुन्दथे। मेरा मामाले भरखरै सत्तरी वर्षको उमेरमा मुटुमा पेसमेकर राख्नुभयो। मेरी आमा र सानिमा दुवैको मधुमेह अनियंत्रित रहन्छ, बुबालाई पनि छ तर नियन्त्रण मा छ। यो रोग कुनै जीवनशैलीको असफलताले पुस्तौँपुस्तासम्म चलेकोले भने लाग्ने होइन । यो एक वंशाणुगत रोग पनि हो। जसलाई दक्षिण एशियाली देशको जनसंख्यामा भइरहेको अनुसन्धानले बढ्दो रूपमा पुष्टि गर्दैछ। अध्ययनहरूले देखाउँछन् कि भारतीय र नेपाली मूलका मानिसहरूलाई कम शरीरको तौलमा पनि मधुमेहको जोखिम बढी हुन्छ, जो प्रायः जेनेटिक, इन्सुलिन प्रतिरोध, र पश्चिमी जनसंख्याको औसतभन्दा फरक तरिकाले जोडिएको हुने रहेछ।

कहिलेकॉंहि म आमासँग जिस्कदै भन्ने गर्दछु, सुगर रोग त “धनी मानिसको रोग” हो।बिगतको चौध वर्षमा, पाँच औषधि! रोग पत्ता लगेको पहिलो छ महिना मैले पनि सबैले जस्तो डिनाएल फेजमा नै बिताएँ, आफूलाई विश्वास दिलाउँदै कि खानपानमा सानो परिवर्तन र थोरै अतिरिक्त हिँडाइले १६० नम्बर बाट १०० मा झार्नु थियो। अन्तत सकिएन र शुरूभयो औषधि , केहि महिनामै अनिवार्य भयो औषधि । मेटफर्मिन पहिले आयो, त्यसपछि सेमाग्लुटाइड। त्यसपछि फार्सिगा, जार्डियन्स, , राइबेल्सस , र अहिले, ओजेम्पिकको गोली। चार औषधि, केहि बिहान केहि बेलुकि नियमित रूपमा लिनुपर्ने, बाँकी जीवनभरि सम्भवत। यहाँ एउटा कुरा छ जो सधारण कुराकानीमा विरलै चर्चा हुन्छ, अमेरिकामा कति खर्च हुन्छ त? । राम्रो बिमा भएर पनि, यीमध्ये केही औषधिको एक महिनाको सप्लाईले बिमाको छुट अघि $१,७०० देखि $३,५०० डलरसम्म पुग्ने रहेछ। मैले अझैपनि प्रत्येक रिफिलमा लगभग $२०० डलर आफ्नै खल्तीबाट तिर्छु बॉंकि बिमाले तिर्छ, ९० दिनको औषधिलाई।

प्राय हामी मधुमेह भएका मानिसहरूलाई “स्वस्थ खानुहोस्” र “बढी व्यायाम गर्नुहोस्” भन्न रुचाउँछौं र डाक्टरपनि त्यहि भन्छन्। ती सामान्य, सबैका लागि सजिलै उपलब्ध विकल्प हुन्। धेरैजसो आप्रवासी परिवारका लागि होइनन् पनि। कुनै पनि सुपरमार्केट ना पसलमा गएर आफैं हिसाब गरी हेर्नुहोस्: चिप्सको एक झोला पालुंगो सागको झोलाभन्दा सस्तो हुन्छ। एक १२ प्याक सोडा एक १२ प्याक पानीभन्दा सस्तो हुन्छ। कतिपय ठाउँमा त झन, १२ प्याक बियर पनि दुवैभन्दा सस्तो हुन्छ।

यसैबीच, परिवारमा घर चलाउन दुई वा तीन जागिर गर्नुपर्ने बाध्यता, राति चार-पाँच घण्टा मात्र सुत्न पाउनु , घर-लोन, गाडी-किस्ता, क्रेडिट कार्डको ऋण, र भएका साथिभाईलाई देखाउनु पनि पर्ने दबाब महंगो गाडी, महंगो लुगा, ब्रान्डेड समानको दबाब । त्यस्तो दबाबै दबाबको बिच, “स्वस्थ खानुहोस् र व्यायाम गर्नुहोस्” सल्लाह होइन तर यो एक विलासिता (लक्जेरी) हो। प्रोसेस्ड खाना छिटो, सस्तो, अनि डबल शिफ्टपछि काम गरेर मध्यरात घरपुग्दा पनि सहजै उपलब्ध हुने खानाले। निद्राको बलिदानले, र अनुसंधानले यो पनि भन्छकि कमजोर निद्राले नै इन्सुलिन प्रतिरोधलाई बिगारिदिन्छ। स्ट्रेस हर्मोनहरू रातीराम गर्दा वर्षौंसम्म उच्च रहिरहन्छन् , आप्रवासी समुदायमा मधुमेहको दर बढ्ने वास्तविक इन्जिन अल्छीपन वा अज्ञानता होइन, तर अस्वस्थ विकल्पलाई सजिलो बनाउने खालको वातावरणले नै हो।

अनुसन्धानले वास्तवमा के देखाउँछ त? दक्षिण एशियाली समुदायमा गरिएको सार्वजनिक स्वास्थ्य अध्ययनहरूले ेखाउछ कि विदेशमा बस्ने भारतीय र नेपालीहरूमा टाइप-२ मधुमेह अधिकांश अन्य जनसंख्याको तुलनामा चाँडै, र थोरै शरीरको तौलमा पनि विकसित हुन्छ। बसाइँसराइ पनि आफैं एक जोखिम कारक हो। पारम्परिक खानपान र दैनिक काम, , डेस्क जागिर, प्रोसेस्ड खाना, र दीर्घकालीन तनावतर्फको परिवर्तनले रोगको प्रक्रियालाई द्रुत गति दिने रहेछ। यसमा बलियो जेनेटिक थप्नुहोस्, र आफ्नो लाइफ़स्टाइलसंग तुलना गर्नुहोस।

उपायाहरू को छन् त? चाँडै परीक्षण गर्नुहोस्, रेगुलर फलोअपमा जानुहोस। तपाईंको सबै ठीक छ, राम्रो महसुस गरेको भए पनि रेगुलर परीक्षण गर्नुहोस्। विशेष गरी यदि तपाईंको परिवारमा मधुमेह छ भने किनभने लक्षण देखिँदासम्म, रोग सामान्यतया वर्षौंदेखि सक्रिय भइसकेको हुन्छ। घरमा यसबारे सबैसंग खुलेर कुरा गर्नुहोस्। धेरैजसो दक्षिण एशियाली घरपरिवारमा, मधुमेहलाई गोप्य कुरा वा व्यक्तिगत वा स्वास्थ्यमा असफलताको रूपमा हेरिने हुदा र व्यवहार गरिने हुदा खुलेर छलफल गर्नुभन्दा लुकेर उपचार गर्ने चलन वा बाध्यताहरू होलान तर छलफलले सहजता दिने गर्दछ।

व्यक्तिगत रूपमा मेरो सुगर अझै पनि कतिपय बिहान उच्च हुन्छ। हरेकपटक मेरो औषधिको क्याबिनेट हेर्दा मैले चाहेभन्दा धेरै औषधि देख्छु। तर मैले यो रोगलाई हाँसोको कुराको रूपमा व्यवहार गर्न छोडेको छु र यसलाई जस्तो हो त्यस्तै, एक लामो, व्यवस्थापन गर्न सकिने, खर्चिलो, र व्यक्तिगत लडाइँको रूपमा व्यवहार गर्न थालेको छु। हामीमध्ये धेरैले चुपचाप, एक्लै उपचार गर्नु भन्दा बरू छलफल गरेर जानकारी मूलक बनाएर, खनपान, ब्यायम र औषधि उपचार गरेर दैनिकीको ब्यावस्थापन सहज गर्ने कोसिस गर्दै छु। तर के गर्नु, यही त हो सबैको पुरै कथा- सस्तो चिसो पिउने बानीले , महँगो औषधिको बिल पछि तिर्नु नै छ! यस कल्बमा तपाई यदि अहिलेसम्म पनि पर्नुभएको छैन भने पर्ने हतार नगर्नुहोला, यदि परिसक्नुभएको भए पनि छलफल, औषधि , निन्द्रा , खानपिन र डाक्टरको सल्लाहमा उपचार सुरूवातबाट थाल्नुहोला।

प्रतिक्रिया दिनुहोस्