६ भाद्र २०८३, शनिबार

कविताः समय

कोलोराडोखबर संवाददाता , August 22nd, 2026

-सुदीपभद्र खनाल-
सम्झनेले आफैँलाई
अहं ब्रह्मास्मी भनेर
सम्प्पूर्णता सम्झेपनि भो
यौटा सानो कण सम्झेर
धूल सम्झेपनि भो
खुल्ला आकाश
या सानो त्रिणविन्दु सम्झेपनि भो
खासमा उसले
तपाईलाई मलाई र उसलाई
अझ भनौँ हामीलाई कसरी हेर्छ ?
के सम्झन्छ

युक्लिड
एथेना
कृष्न
क्राइष्ट
बुद्द
र इब्लिस
जो पनि हुनसक्छ
बर्बरिकको शक्ति
सन्जयको दृष्टि
र प्रभाको किरण
जस्तो पनि बन्नसक्छ
आखिर सर्वोत्तम शक्ति
उही नै त हो
जसले राजालाई रङ्क
र रङ्कलाई राजा बनायो
कौडीको भाउमा नबिक्ने ढुङ्गोलाई हिरा

चमकदार हिरालाई कालापत्त्थर बनायो
जो काल हो र सृजन पनि
उसैलाई सोधे थाहा हुन्छ
आजभोलि कस्को मूल्य कति छ
ओजन कति छ
ताप र तौल कति छ
किनभने
उहीनै हो जसले
संवेदनहीन ढुङ्गालाई ईश्वर र
सर्वज्ञ ईश्वरलाई ढुङ्गा बनायो
आज
उसैको यक्ष प्रश्न
तपाईँतिर सोझिएको छ !
भन्नुहोस् तपाईँ
ढुङ्गो बन्ने कि ईश्वर ?

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्