नेपाल । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन भएको छ । नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्यमा लामो समयदेखि सक्रिय विमलको ७९ वर्षको उमेरमा गत सोमबार राति निधन भएको हो।
उनका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला विमल अचानक बिरामी परेका थिए ।
उनलाई तत्काल नजिकैको अस्पताल लगिए पनि उपचारकै क्रममा राति पौने १ बजे निधन भएको हो । विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एक बहुआयामिक स्रष्टा गुमाएको साहित्य क्षेत्रका व्यक्तिहरूले बताएका छन् ।
डा. विमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए। भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए ।
साहित्य सिर्जनासँगै अध्यापन र भाषा अनुसन्धानमा समेत उनको महत्वपूर्ण योगदान थियो । उनी विसं २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा जोडिएका थिए ।
लामो समय शिक्षण, अनुसन्धान र साहित्य सिर्जनामा सक्रिय विमलले साहित्यलाई केवल सिर्जनाको माध्यमका रूपमा मात्र नभई भाषा, समाज र संस्कृतिको अध्ययनसँग जोडेर अघि बढाएका थिए ।
उनको लेखनमा नेपाली र मैथिली समाजको सामाजिक, सांस्कृतिक तथा भाषिक परिवेशको प्रभाव स्पष्ट रूपमा देखिने साहित्य क्षेत्रका जानकारहरू बताउँछन् ।
साहित्य तथा भाषा क्षेत्रमा पुर्याएको योगदानका लागि डा। विमल विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भएका थिए। उनले जगदम्बा श्री पुरस्कार, मधुपर्क सम्मान लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए ।
साहित्य सिर्जना, भाषा अध्ययन र अध्यापनका माध्यमबाट उनले चार दशकभन्दा लामो समय नेपाली तथा मैथिली साहित्य क्षेत्रमा योगदान पुर्याएका थिए ।
उनको पार्थिव शरीरको जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्