७ श्रावण २०८३, बिहीबार

अमेरिकाको न्युजर्सीमा गायक, संगीतकार तथा कलाकार युवराज चौलागाईं सम्मानित

कोलोराडोखबर संवाददाता , July 23rd, 2026

नेपाल । अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्व गायक, संगीतकार तथा कलाकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै औपचारिक सम्मान प्रदान गरेको छ ।

सन् २०२६ जुलाईमा जारी गरिएको सम्मानपत्रमा चौलागाईंलाई नेपाली संगीतको समकालीन यात्रामा एक प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको छ ।

सिटी हलमा आयोजित एक समारोहबीच उक्त सम्मानपत्र हस्तान्तरण गरियो। जर्सी सिटीका मेयरद्वारा नियुक्त ‘विविधता र समावेशीकरण सल्लाहकार’ एवं न्युजर्सीका गभर्नरको ‘एशियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’की कमिस्नर डा. विष्णुमाया परियारले उक्त सम्मानपत्र चौलागाईंलाई हस्तान्तरण गर्नुभएको थियो ।

काउन्सिलम्यान-एट-लार्ज रोलान्डो लभारोले हस्ताक्षर गर्नुभएको सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानलाई विशेष रूपमा उल्लेख गरिएको छ। उहाँले चलचित्र तथा समकालीन संगीत विधामा गरी ४०० भन्दा बढी गीत रेकर्ड गराइसकेको चर्चा गर्दै, यस ऐतिहासिक उपलब्धिले उहाँलाई नेपाली संगीत जगतमा एक स्थापित र सम्मानित कलाकारका रूपमा प्रमाणित गरेको सम्मानपत्रमा उल्लेख छ ।

सम्मानपत्रमा चौलागाईंको कलात्मक यात्रालाई केवल गीत गायन वा संगीत सिर्जनामा मात्र सीमित नराखी नेपाली सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने, नयाँ पुस्ताका कलाकारलाई मार्गदर्शन गर्ने र नेपाली संगीत सम्पदाको जगेर्ना गर्ने एक सशक्त सांस्कृतिक व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ ।

चौलागाईंले नेपाल र विश्वभर फैलिएको नेपाली समुदायबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको समेत त्यसमा उल्लेख छ ।

उक्त सम्मान न्युयोर्कबाट प्रकाशित हुने स्थानीय सञ्चारमाध्यम ‘नेपयोर्क’को चौथो वार्षिकोत्सवको अवसर पारेर प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्