नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय पदाधिकारीसँग शुक्रबार हेटौँडामा भएको छलफलमा मुख्यमन्त्री बानियाँले यातायात प्रदेश सरकारको एकल अधिकारको क्षेत्र भएकाले यस क्षेत्रमा देखिएका बहुआयामिक समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताउनुभयो।
छलफलका क्रममा महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले विशेषगरी बागमती प्रदेश, खासगरी काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात व्यवस्थापन, ट्राफिक जाम, दुर्घटनामा मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारसम्बन्धी समस्यामा प्रदेश सरकारले सहजीकरण गर्न आग्रह गर्नुभएको थियो।
जवाफमा मुख्यमन्त्री बानियाँले ट्राफिक व्यवस्थापन, दुर्घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारका विषयमा यातायात व्यवसायीसँग समन्वय र सहकार्य गरेर समस्या समाधान गरिने बताउनुभयो।
उहाँले प्रदेश सरकार मातहतका अस्पतालमा ट्रमा सेन्टरको विकास गर्दै दुर्घटनामा घाइते भएकाको प्रारम्भिक उपचार सरकारी अस्पतालमै हुने गरी आवश्यक कानुनी व्यवस्था मिलाइने जानकारी दिनुभयो।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सङ्घीय राजधानीसमेत रहेको र मुलुकका ६० प्रतिशतभन्दा बढी सवारी साधनको चाप यही प्रदेशमा रहेकाले सार्वजनिक यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। आवश्यक नीति तथा कानुन निर्माण गरी यातायात क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार सक्रिय रहने उहाँको भनाइ थियो।
महासङ्घका अध्यक्ष सिटौलाले हाल दुर्घटनामा घाइते भएकाको उपचार महँगा निजी अस्पतालमा गर्नुपर्ने बाध्यता रहेको र बिमाबाट अधिकतम तीन लाख रुपियाँसम्म मात्र क्षतिपूर्ति पाइने भएकाले व्यवसायीमाथि आर्थिक भार बढेको बताउनुभयो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्