नेपाल । नेपाली चियाको भारत निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका एक सयभन्दा बढी चिया उद्योग सञ्चालनमा आएका छन् ।
यही असार १ गतेदेखि बन्द भएका उद्योग सङ्घीय सरकार र स्थानीय तहसँगको सहमतिपछि सञ्चालनमा आएका हुन् । इलाम, झापा, पाँथचर, भोजपुर, कास्कीलगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरण तयार गर्न माग गर्दै बन्द भएका थिए ।
सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने मागेको रायमा उद्योगीले दिएको सुझाव अनुसार सरकारका तर्फबाट त्यस अनुसार मौखिक आश्वासन आएपछि उद्योग सञ्चालन गरिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूले बताउनुभयो ।
झापाको नेपाल चिया उत्पादक सङ्घले पनि प्रेस विज्ञप्ति जारी गरी सरकारी आश्वासन अनुसार चिया उद्योग बन्दका सबै कार्यक्रम हालका लागि स्थगन गरिएको जनाएको छ ।
उद्योगीले चाँडोभन्दा चाँडो भारतसँग कूटनीतिक पहल गरिनुपर्ने, नेपालमा अन्तर्राष्ट्रियस्तरको परीक्षण प्रयोगशाला नबनेसम्म भारत निकासी हुने चियालाई पुरानै (सिएफएल) ढङ्गले निकासी गर्ने वातावरण बनाइनुपर्ने, अहिले गोदाममा थन्किएको तयारी चिया बिक्री नभएसम्म उद्योगलाई बिनाब्याज ऋण दिएर उद्योग सञ्चालनको वातावरण बनाइनुपर्ने, तत्काल अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला परीक्षण केन्द्र स्थापना गर्नुपर्ने, अर्गानिक उत्पादन गर्न चियाक्षेत्रलाई आवश्यक स्थानीय, प्रदेश र केन्द्रको बजेटसहित कानुन र ऐन संशोधन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्