नेपाल । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषधको क्रोनिक कारोबारीलाई शनिबार काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
काठमाडौँ उपत्यकामा लागूऔषध सप्लाई गर्ने गिरोहको सूक्ष्म निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि भारतको वासमतियाबाट काठमाडौँ उपत्यकासम्म लागूऔषध खैरो हेरोइन ल्याई बिक्री गर्दै गरेको अवस्थामा कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागी रहेकाले किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी निजसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्