नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्टी निर्माण प्रक्रिया सुरु भएको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने स्पष्ट पार्नुभयो । प्रसाईंले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बोकेर देशव्यापी रूपमा नागरिकको विश्वास जितेकाले उहाँकै नेतृत्वमा पार्टी अघि बढ्ने उहाँको भनाइ थियो ।
नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्रको वकालत गर्ने र मुलुकमा हिन्दु राष्ट्र कायम गराउने संकल्प लिएको नेता राणाले बताउनुभयो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई इमान्दारिताका साथ अघि नबढाएका कारण आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपर्ने परिस्थिति निर्माण भएको दाबीसहित नेता राणाले जिकिर गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्