२१ जेष्ठ २०८३, बिहीबार

अन्तर्राष्ट्रिय नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

कोलोराडोखबर संवाददाता , June 4th, 2026

नेपाल । ‘वसुधैव कुटुम्बकम्’को भावनालाई आत्मसात् गर्दै चारु साहित्य प्रतिष्ठान नेपाल र भारतको क्रान्तिधारा साहित्य अकादमीद्वारा काठमाडौँमा तीन दिने अन्तर्राष्ट्रिय नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ । दुई देशको राष्ट्र गानबाट सुरु भएको महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गर्नुभएको हो ।

नेपाल, भारत र भुटानबाट सहभागी साहित्यकारहरुको स्वागत चारु साहित्य प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले गर्नुभएको थियो । कञ्चना झाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपालको तर्फबाट ममता मृदुल, राधिका पन्थी र एन्जल निलुले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो भने भारतको तर्फबाट दीपा पन्त ‘शीतल’ र देवयानीले राजस्थानी सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो ।

तीन दिने अन्तर्राष्ट्रिय नेपाल(भारत साहित्य महोत्सवमा नेपालका करिब दुई सय साहित्यिक, सामाजिक, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वका साथै भारतबाट एक सयभन्दा बढी वरिष्ठ तथा नवोदित लेखक, कवि, पत्रकार, शोधकर्ता, वातावरणविद् तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।

महोत्सवको मुख्य उद्देश्य ‘वसुधैव कुटुम्बकम्’को भावनासहित नेपाल र भारतबिच साहित्य, कला, संस्कृति, अनुसन्धान तथा आध्यात्मिकताको माध्यमबाट हृदयदेखि हृदय जोड्नु, एक अर्काका सिर्जना र अनुसन्धानसँग परिचित गराउनु, अनुवाद, प्रकाशन, विचार आदान प्रदान, पारस्परिक सहयोग र मैत्रीभाव अभिवृद्धि गर्नु, अध्ययन अध्यापन तथा साहित्यको दायरा विस्तार गर्नु र नवोदित तथा ओझेलमा परेका स्रष्टालाई वरिष्ठ साहित्यकारको सान्निध्यमा अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्नु रहेको पन्थीले बताउनुभयो ।

नेपाल–भारत साहित्य महोत्सवको सातौँ संस्करणमा पुस्तक प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक समीक्षा, साहित्यिक तथा सामाजिक परिचर्चा, अन्तर्वार्ता, लघुकथा वाचन, शोधपत्र प्रस्तुति, ओपन माइक, बहुभाषिक कवि सम्मेलन, चारु र गजल सम्मेलन तथा सम्मान समारोह भएको थियो ।

महोत्सवको दोस्रो दिन साहित्यिक भ्रमणको कार्यक्रम थियो । प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीको यातायात सहयोगमा भारत, भुटान र नेपालका एक सय बढी साहित्यकारले पाटन दरबार, कृष्ण मन्दिर र भक्तपुर दरबारको भ्रमण गर्नुभएको थियो । सो अवसरमा इन्दु पौडेलको नेतृत्वमा साना तथा मझौला व्यवसायी महासंघले स्वागतमा तथा भोजनको व्यवस्था गरेको थियो ।

साँझ बहुभाषिक कविगोष्ठीको आयोजना पनि गरिएको थियो । तेस्रो दिनको पहिलो सत्र डा।घनश्याम परिश्रमीको अध्यक्षतामा प्रमुख अतिथि संस्कृतिविद लक्ष्मण रायमाझीले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । शीतल देवयानीले सरस्वती वन्दना प्रस्तुत गर्नुभयो भने ममता मृदुल र राधिका पन्थीको समूहले नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

भारततर्फबाट लोपोन्मुख हुँदै गएको ‘आल्हा’ गायन परम्परा अन्तर्राष्ट्रिय आल्हा गायक संग्राम सिंहले प्रस्तुत गर्नुभएको थियो । लघुकथा सत्रको प्रमुख अतिथि तुलसीहरि कोइराला हुनुहुन्थयो । सत्रमा नेपाल र भारतका प्रतिष्ठित लघुकथाकारहरूले आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो । खोरिया साहित्य सृजनाको तर्फबाट जनार्दन अधिकारी धड्कनको नेतृत्वमा खोरिया साहित्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्