नेपाल । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ ।
सरकारको सयबुँदे कार्यसूची अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने १० वटा योजना अनुरूप श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
विभागका अनुसार यसअघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका र सोही देश तथा सोही कम्पनीमा पुनः कामका लागि जान चाहने श्रमिकले मात्र यो स्वचालित प्रणालीमार्फत आवेदन दिन पाउने छन् । विभागले अघिल्लो साता बसेको मन्त्रीस्तरको बैठकको निर्णय अनुसार यो व्यवस्था मिलाएको जनाइएको छ ।
स्वचालित प्रणालीमार्फत पुनः श्रम स्वीकृति प्राप्त गर्न विभागले केही अनिवार्य सर्त तोकेको छ । तोकिएका सर्तमा आवेदन दिने व्यक्तिको राहदानीको अवधि कम्तीमा तीन महिना बाँकी हुनुपर्ने, सम्बन्धित देशको भिसा वैध हुनुपर्ने र रोजगारदाता कम्पनीसँगको करार सम्झौता नवीकरण भएको हुनुपर्ने उल्लेख छ ।
यस्तै सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा तोकिएको रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बिमा गरिएको हुनुपर्ने, विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा भिसा र करार सम्झौतालगायतका विषयमा स्वयम् घोषणा गर्नुपर्ने सर्त राखिएको छ । उक्त प्रणालीमा गलत विवरण भरेमा वा तोकिएका कागजात पेस नगरेमा त्यसबाट हुने त्रुटिको जिम्मेवारी सेवाग्राही आफैँले लिनुपर्ने र सोहीबमोजिमको दायित्व वहन गर्नुपर्ने कुरा विभागले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्