४ जेष्ठ २०८३, सोमबार

कोलोराडो निवासी रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण

कोलोराडोखबर संवाददाता , May 18th, 2026

नेपाल । नेपाली कविताको आकाशमा नयाँ उज्यालो थप्दै अमेरिकाबाट साहित्यिक योगदान पुर्‍याइरहेका कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण एक भव्य एवं भावुक समारोहबीच सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा शनिबार काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा सङ्ग्रहको लोकार्पण गरिएको हो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा. रामप्रसाद भट्टराई, राधेश्याम लेकाली, गीता खत्री, डा. रामप्रसाद दाहाल र डा. खगेन्द्र प्रसाद लुइँटेल लगायतका वरिष्ठ साहित्यकारहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका प्राध्यापक रामप्रसाद भट्टराई र विशेष अतिथि प्रा. डा. खगेन्द्र प्रसाद लुइँटेलले रमेश गुरुङको साहित्यिक कर्मलाई उच्च प्रशंसा गरे ।

लोकार्पित कृतिमाथि डा. नवराज लम्साल र खेमप्रसाद पोखरेलले गहन समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । डा. लम्सालले भने, “रमेश गुरुङका कविता मैले अहिलेसम्म पढेका कविताभन्दा निकै नयाँ, ताजा र दार्शनिक रूपमा गहिरा छन् । यिनले परम्परागत ढाँचालाई तोड्दै आधुनिक संवेदनालाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् ।”

खेमप्रसाद पोखरेलले पनि कृतिका कविताहरूलाई “निकै राम्रो र प्रभावशाली” भन्दै तारिफ गरे । उनीहरूका अनुसार ‘महाप्रस्थान’ ले जीवनको अन्तिम यात्रा (महाप्रस्थान) लाई केवल शारीरिक होइन, आध्यात्मिक तथा भावनात्मक रूपमा पनि व्याख्या गरेको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल, डा. खगेन्द्र प्रसाद लुइँटेल, निर्मल पराजुली, मञ्जिला अनिललगायतले कृतिका विभिन्न पक्ष– भाषाशैली, भाव गहनता, दार्शनिक चेतना र सामाजिक सन्दर्भबारे मन्तव्य राखेका थिए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के।सी।ले भने, “रमेश गुरुङजस्ता स्रष्टाहरूबाट यस्ता कृति आइरहनु नेपाली साहित्यका लागि ठूलो खुशी र योगदान हो । यसले साहित्यिक यात्रालाई अझ समृद्ध बनाउँछ ।”

अमेरिकाको कोलोराडो च्याप्टरका सल्लाहकार रहेका कवि रमेश गुरुङले प्रवासमा बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना तथा समृद्धिमा पुर्‍याएको निरन्तर योगदानलाई समारोहले एक स्वरमा कदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्