नेपाल । दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सिइओ ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा सञ्चालन गर्दै आएको सो प्रालिले नियम अनुसार अनुमति नवीकरण नगरेपछि कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको थियो । त्यसपछि दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति, पूर्वाधार, संरचना तथा प्रणाली नेपाल सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था रहे पनि सो सम्पत्तिमाथि गैरकानुनी चलखेल भएको खुलेको छ ।
सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उक्त प्रकरणमा सरकारी सम्पत्तिमा हानि पुर्याउने तथा नेपाल सरकारको हक अधिकार कमजोर पार्ने उद्देश्यसहित कार्य भएको भन्दै मुलुकी अपराधसंहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
ललितपुर–५ निवासी ६३ वर्षीय पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा सवारी जाँचका क्रममा पक्राउ गरिएको हो । पक्राउपछि पाण्डेलाई काठमाडौँ ल्याई थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्