२७ बैशाख २०८३, आईतवार

राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श सुरु

कोलोराडोखबर संवाददाता , May 10th, 2026

नेपाल । प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको रास्वपाले राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श सुरु गरेको छ ।

मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले रास्वपाले पार्टी, संसद् तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा परिचालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण सुरु गरेको हो । यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु गरेको छ ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सुरु भएको रास्वपा संसदीय दलको मन्त्री–सांसद पूर्वबजेट अन्तक्रियाको तेस्रो शृङ्खलामा शिक्षामन्त्री सस्मित पोखरेल र कानुनमन्त्री सोबिता गौतमसँग सांसदहरूको अन्तक्रिया भएको हो । सो अन्तक्रियामा मन्त्रालयका काम, क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्वबजेट छलफल भएको थियो ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा सुरु भएको छलफलमा विभागीय मन्त्रीहरूको प्रस्तुति र सांसदहरूको जिज्ञासा जारी छ । सचेतक प्रकाशचन्द्र परियार र सांसद क्रान्तिशिखा धितालले सहजीकरण गरिरहनुभएको छ ।

पार्टी प्रवक्ता मनीष झाका अनुसार उक्त कार्यक्रम आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम, बजेट र विभिन्न महत्वपूर्ण विधेयकमा केन्द्रित छ ।

यही वैशाख २८ गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकमा सरकारको नीति, बजेट र कानुन निर्माणसम्बन्धी बहसलाई प्राथमिकतामा राखिएको छ । रास्वपाले बजेट तयारी, मन्त्रालयगत समन्वय र विपत् व्यवस्थापनका विषयमा सक्रिय नीति बहस सुरु गरेको हो ।

संसद्को कार्यतालिका अनुसार वैशाख २८ गते राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, विभिन्न अध्यादेश तथा प्रतिनिधि सभा नियमावली मसौदा प्रतिवेदन पेस गर्ने तयारी छ ।

यसै गरी रास्वपाले जलवायु परिवर्तनसँगै बढ्दो प्राकृतिक विपत्लाई ध्यानमा राख्दै ‘नीति मन्थन’ नामक राष्ट्रिय बहस सुरु गरेको छ । पार्टी महामन्त्री भूपदेव शाहको अध्यक्षतामा गठित पार्टी–संसद्–सरकार समन्वय समितिको आयोजित आइतबार काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रममा सुरक्षा निकाय, वातावरणविद्, नीतिविज्ञ, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न सरोकारवाला संस्थाको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्