नेपाल । नेपालले लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयमा भारत र चीनलाई ६ बुँदे कूटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार दुवै देशलाई उक्त नोट पठाउँदै नेपाली भूमि प्रयोगसँग जोडिएका गतिविधिप्रति आफ्नो औपचारिक धारणा स्पष्ट पारेको हो।
विशेषगरी लिपुलेक हुँदै सञ्चालन गर्ने भनिएको कैलास मानसरोवर यात्राबारे विभिन्न सञ्चारमाध्यममा उठेका चासोप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग रहेको विषयमा सरकार स्पष्ट र अडिग रहेको छ। यसअघि पनि नेपालले उक्त क्षेत्रमा सडक निर्माण, सीमा व्यापार वा तीर्थाटनजस्ता गतिविधि नगर्न भारतलाई आग्रह गर्दै आएको र उक्त विषयमा चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको उल्लेख गरिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्